NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा पारु - १६

परिचय

नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने मौलिक हकको रूपमा सुनिश्चित गरेको छ। सोही संवैधानिक व्यवस्था तथा वर्तमान सङ्घीय संरचना अनुरूप कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय मातहत रहेको स्वास्थ्य कार्यालय भोजपुर जिल्ला स्तरीय स्वास्थ्य निकाय हो।

यस कार्यालयले स्वास्थ्य सेवा प्रणाली अन्तर्गत स्वास्थ्य प्रवर्द्धन, स्वास्थ्य संरक्षण, विभिन्न रोगका जोखिम कारक तथा रोगहरूको रोकथाम र नियन्त्रण, साथै रोगहरूको प्रारम्भिक पहिचान तथा शीघ्र उपचार र पुनर्स्थापनात्मक सेवाहरूको प्रभावकारी कार्यान्वयन, व्यवस्थापन, समन्वय तथा अनुगमन गर्ने जिम्मेवारी निर्वाह गर्दै आएको छ।

कार्यक्षेत्र

  1. जिल्ला भित्रका स्थानीय तहहरूमार्फत आधारभूत स्वास्थ्य सेवा प्रवाह सुनिश्चित गर्ने।
  2. स्वास्थ्य संस्थाहरूको नियमित सुपरिवेक्षण, अनुगमन तथा मूल्याङ्कन गरी आवश्यक पृष्ठपोषण प्रदान गर्ने।
  3. जिल्लामा स्वास्थ्य जनशक्तिको आवश्यकता निर्धारण तथा व्यवस्थापनमा सहजिकरण गर्ने।
  4. स्वास्थ्य संस्थाहरूका लागि आवश्यक खोप, औषधि, उपकरण तथा अन्य स्वास्थ्य सामग्रीको भण्डारण र आपूर्ति व्यवस्थापन गर्ने।
  5. जनस्वास्थ्य तथा विभिन्न स्वास्थ्य कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने।
  6. प्राकृतिक प्रकोप, महामारी तथा जनस्वास्थ्य आपतकालीन अवस्थाको रोकथाम, तयारी, अनुसन्धान तथा व्यवस्थापन गर्ने।
  7. जनस्वास्थ्य अभियान सञ्चालन, समन्वय तथा सहजिकरण गर्ने।
  8. स्वास्थ्य सेवा प्रभावकारी बनाउन सरकारी, निजी तथा सहकारी संस्थाहरूसँग साझेदारी र समन्वय सुदृढ गर्ने।
  9. एकीकृत स्वास्थ्य सूचना प्रणाली अन्तर्गत तथ्यांक संकलन, व्यवस्थापन, विश्लेषण तथा आवश्यकतानुसार प्रकाशन गर्ने।
  10. जिल्लामा स्वास्थ्य सेवा सञ्चालनमा रहेका समस्याहरूको पहिचान गरी समाधानका उपायहरू खोजी गर्ने।
  11. स्वास्थ्य सेवाको पहुँच, उपयोग तथा गुणस्तर अभिवृद्धिका लागि योजना निर्माण तथा कार्यान्वयनमा सहजिकरण गर्ने।
  12. सरकारी, निजी तथा सहकारी स्वास्थ्य संस्थाहरू र स्वास्थ्यकर्मीहरूको नियमन, अनुगमन तथा गुणस्तर सुनिश्चितता सम्बन्धी कार्य गर्ने।
  13. संस्थागत तथा जनशक्तिको प्राविधिक क्षमता अभिवृद्धि गर्ने।
  14. प्राथमिकता प्राप्त स्वास्थ्य कार्यक्रमहरू (जस्तैः क्षयरोग, कुष्ठरोग नियन्त्रण, मातृ तथा शिशु स्वास्थ्य, परिवार नियोजन, खोप, पोषण, हात्तीपाइले, दादुरा-रुबेला, स्वास्थ्य बीमा आदि) को सञ्चालन, समन्वय तथा सहजिकरण गर्ने।
  15. भेक्टर सर्भिलेन्स, वातावरणीय स्वास्थ्य, खानेपानी, सरसफाइ तथा पेशागत स्वास्थ्य प्रवर्द्धन सम्बन्धी कार्य गर्ने।
  16. जनसंख्या व्यवस्थापन सम्बन्धी कार्यक्रमहरू कार्यान्वयन गर्ने।
  17. प्रदेश सरकार तथा स्वास्थ्य निर्देशनालयबाट प्राप्त निर्देशनहरू कार्यान्वयन गर्ने।
  18. बहुक्षेत्रीय समन्वय तथा सहजिकरण सम्बन्धी कार्य गर्ने।
  19. कार्यालयको आन्तरिक प्रशासन (आर्थिक, प्रशासनिक तथा व्यवस्थापन) सम्बन्धी कार्य सञ्चालन गर्ने।